Tuesday, September 21

फेरिआयो दैलेख घटना: आइतबार ३ बजे नै स्कुलबाट बिदा मागेर गएकी थिइन् कल्पना, भोलिपल्ट बहिनीसँगै भेटिइन् मृत

March 14, 2021 242

यही फागुन २३ गते आइतबारको कुरा हो। दैलेखको आठविस नगरपालिका–३, निमायल गाउँको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा चालू थियो। विद्यालय बन्द हुनु एक घन्टाअगाडि कक्षा ७ मा पढ्ने छात्रा कल्पना बडुवालले प्रधानाध्यापकको कार्यकक्षमा आएर बिदा मागिन्।

उनले घरमा काम परेकाले बिदा चाहिएको बताएकी थिइन्। उनको कुरा सुनेर प्रधानाध्यापकले मौखिक रूपमै बिदा स्वीकृत गरे।

कल्पना ३ बजे घर गइन्।

कल्पनाको घर विद्यालयनजिकै छ। उनका अरू दुई बहिनी सरिता, रजनी र भाइ ललित पनि त्यही स्कुलमा पढ्छन्। उनीहरू चाहिँ विद्यालय बन्द भएपछि मात्र घर गए।

भोलिपल्ट सोमबार बेलुकी स्कुल छुट्टी भइसकेपछि प्रधानाध्यापक उजिरसिंह सिजापतिलाई कल्पना र उनकी बहिनी सरिताको शव भेटिएको खबर आयो।

प्रधानाध्यापक सिजापति झस्किए।

‘मलाई त पत्याउनै गाह्रो लाग्यो, यो झूटो होस् भन्ठानेँ,’ उनले भने, ‘मन मानेन, कन्फर्म हुन आफैँ नदी किनार पुगेँ।’

कल्पना पढ्ने स्कुल।
सिजापतिले कल्पना र सरिताको शव आफ्नै आँखाले देखे। त्यहीँबाट अरू शिक्षकलाई फोन गरेर मंगलबार विद्यालय बन्द गर्ने निर्णय गर्नू भने।

सोमबार बेलुकी मध्यपहाडी लोकमार्गमा पर्ने कर्णाली पुलनजिकै नदीको किनारमा हात बाँधिएको अवस्थामा कल्पना र सरिताको शव भेटिएको थियो। मंगलबार फेरि त्यही ठाउँमा उनीहरुकी आमा र भाइको शव पनि भेटियो।

विद्यालय बन्द हुनुअघि नै बिदा मागेर गएकी कल्पनासहित बहिनीहरू, भाइ र आमा मृत भेटिएको यो घटना रहस्यमय बनेको छ।

अधिकांशले यसलाई घरायसी झगडाका कारण आमाले छोराछोरीसहित नदीमा हाम्फालेर आत्महत्या गरेको आशंका गरेका छन्। घटनाको अनुसन्धान जारी छ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूकी आमा सुकी बडुवाल आइतबार बेलुकी ४ बजेतिर छोराछोरी लिएर घरबाट निस्किएकी थिइन्। पिठ्युँमा रित्तो डोको बोकेर ओरालो लागेकी उनलाई बाटोमा भेटेका छिमेकीले सोधपुछ पनि गरेका थिए।

‘मैले यतिबेला किन तलतिर जान लागेको भनेर सोध्दा कुर्रो (एक प्रकारको घाँस) काट्न जान लागेकी हुँ भनिन्,’ स्थानीय नरबहादुर शाहीले भने, ‘छोराछोरी किन लगेको भनेर सोध्दा बाबुले रक्सी किन्न पठाउँछ त्यही भएर हो भन्थिन्।’

दैलेख जिल्ला विकास समितिका पूर्वसदस्य रहेका खड्कबहादुर शाहीका अनुसार सुकी गर्भवती पनि थिइन्। उनीहरूको घरझगडाको कारण पनि यही हुन सक्ने उनी बताउँछन्।

‘गर्भमा दुई-तीन महिनाको बच्चा थियो, त्यसलाई चेक गरेर छोरा भए राख्ने र छोरी भए एबोर्सन गर्ने कुरा रहेछ,’ आफन्तको भनाइ उद्धृत गर्दै शाहीले भने, ‘त्यसका लागि श्रीमानले पैसा ल्याएका रहेछन्, त्यसमध्ये थोरै रुपैयाँ खर्च गरिदिएपछि दुई जनाबीच विवाद भएछ।’

शव भेटिएको स्थान।
जिल्ला प्रहरी कार्यालय दैलेखले भने गर्भवती रहेको वा नरहेकोबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने बताएको छ।

‘अछाममा पोष्टमार्टम गरिएको हो, त्यहाँबाट रिपोर्ट आएको छैन,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले भने, ‘हामीले त्यता समन्वय गरिरहेका छौं, रिपोर्ट आएपछि आधिकारिक होला।’

स्थानीयका अनुसार सुकीले शव भेटिएको ठाउँभन्दा माथि पनि नदीमा पस्ने प्रयास गरेकी थिइन्। झोलुंगे पुलनजिकै भेरीको किनारमा उनी गएकी रहिछन्, त्यहाँ माछा मार्ने मान्छेले देखेपछि उनी रोकिएकी रहिछन्,’ एक स्थानीयले भने।
उनका अनुसार माछा मार्ने मानिसले सुकीलाई किन यता आएको भनेर सोधेका थिए। सुकीले जवाफमा ‘श्रीमान सामान लिएर बजारबाट आउँदै गरेको र आफू लिन जान लागेको’ भनेकी थिइन्। अधिकांशले सुकी र उनका चार छोराछोरीको मृत्युलाई सुकीका श्रीमानको मदिरा सेवनसँग जोडेका छन्। मदिरा सेवन गरी प्राय: हरेक दिन घरमा झगडा भइरहने हुँदा सुकीले आत्महत्याको बाटो रोजेको सुकीका माइती पक्षको दाबी छ। कल्पनाको घर।
सुकीका दाइ (सानो बुवाको छोरा) नरबहादुर थापाले ज्वाइँले बहिनी र छोराछोरीलाई सताउने गरेको बताए। दैनिक रक्सी खाएर जाने अनि झगडा गर्ने गर्थे भन्ने कुरा हामीले धेरैजसो गाउँलेबाट सुन्थ्यौं, कतिपय बेला उनी आफैँ आएर पनि भन्थिन्,’ थापाले भने।

 

प्रतिकृया दिनुहोस्