Sunday, May 16

टेकु अस्पताल : संक्रमित नै बिरामी कुरुवा, एम्बुलेन्सलाई भ्याइनभ्याइ

April 28, 2021 125

काठमाडौं– सोमबार बिहान १० बज्नै लाग्दा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल परिसरमा भीड भइसकेको थिएन।

कर्मचारी कार्यालय आउने क्रममात्र बाक्लिएको थियो। बिरामीका लागि टिफिनमा खाना बोकेर आउने पनि बढ्दै थिए। कोही आईसीयूको गेटैमा उभिएका थिए त कोही खाना लिन आउने स्वास्थ्यकर्मीको बाटो हेरिरहेका थिए।

साढे दश बजेतिर अस्पताल प्रांगणमा एउटा एम्बुलेन्स आएर रोकियो। सबैका आँखा त्यतै सोझिए। केही मानिस एम्बुलेन्स नजिकै पुगेर खासखुस गरिरहेका थिए– अहिले त सिकिस्त नभई अस्पताल नै पुग्दैनन् भन्ने समाचार आउँछ, यी मान्छे कहाँका होलान् ? कत्तिको सिकिस्त होला है ?’

एम्बुलेन्सभित्र करिब ३५ वर्षका एक पुरुष रहेछन्। सास फेर्न कठिन भएजस्तो देखिन्थ्यो। सास फेर्दा स्वाँ–स्वाँ आवाज आएको प्रष्टै सुनिन्थ्यो। नेपाल एम्बुलेन्स सर्भिसका पारामेडिक्स ललित सिंहले उनलाई एम्बुलेन्सबाट तल झारे र इमर्जेन्सी अगाडि ढोकानेर बेन्चमा बसाए। तत्कालै चिकित्सक आएर उनको अक्सिजन नापे। अक्सिजन लेभल कम देखेपछि भित्र लगेर अक्सिजन दिन सुरु गरे।

ललितसिंह नेपाल एम्बुलेन्स सर्भिस (१०२) मा काम गर्छन्। दैनिक करिब १५ जना कोभिडका बिरामीलाई विभिन्न अस्पताल पुर्‍याउँछन्। तर उनलाई थाहा हुँदैन आफूले अस्पतालको ढोकासम्म पुर्‍याएका ती बिरामी बाँचेर घर फर्कन्छन् वा फर्कंदैनन्।

एकजना बिरामीलाई अस्पताल पुर्‍याउन नपाउँदै अर्को बिरामीका लागि फोन आइसकेको हुन्छ। उनलाई बोल्ने त फुर्सद छैन, आराम त परको कुरा भयो। ‘तपाईंसँग पछि कुरा गर्छु, फोन नम्बर टिप्नुस्’ भन्दै उनी एम्बुलेन्समा चढिहाले। भक्तपुरका बिरामीका लागि फोन आएको रहेछ।

करिब ११ बज्नै लाग्दा अस्पतालका निर्देशक डा. सागर राजभण्डारी आईसीयूबाट निस्किए। एक वर्षयता अस्पताल छिर्दै गर्दा उनको मन कहिल्यै शान्त हुन सकेको छैन। हरेक दिन भित्रको अवस्था आकलन गरेभन्दा खराब भइदिन्छ। आफैं अस्पतालका वार्डहरुमा पुग्छन् र सबै बिरामीको बारेमा बुझ्छन्।

आईसीयूबाट निस्केपछि पनि उनी हतारमै हुन्छन्। हरेक १० मिनेटजस्तो अन्तरमा आउने फोनलाई नकार्न पनि सक्दैनन्। आजकाल आउने धेरैजसो फोन बेड, आईसीयू वा भेन्टिलेटरकै लागि हुन्छ। मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ।

‘दिनमै ५० भन्दा धेरै फोन कल आउँछ। आईसीयू, भेन्टिलेटर खाली छैन भन्नुको विकल्प छैन मसँग। बिरामीलाई बेड छैन भन्ने मन त हामीलाई पनि कहाँ छ र ? तर के गर्नु, अस्पताल भरिइसक्यो।’

आधा घण्टाको कुराकानीकै क्रममा डा. राजभण्डारीलाई तीन वटा फोन आयो। उनको जवाफ थियो– अहिले भेन्टिलेटर खाली छैन, अरु बिरामी डिस्चार्ज भएपछि खाली होला। अरु अस्पतालमा पनि बुझ्दै गर्नुस्, यता पनि सम्पर्कमा रहनुस्।’ कसैलाई चाहिँ ‘सकिँदैन’ नै भनिदिन्थे।

‘अहिले बिरामीहरु सिकिस्त हुने दर बढेको छ तर कसैलाई पनि भर्ना लिन सकिएको छैन। एउटा बिरामीलाई एकैछिन हटाएर अर्कोलाई राखौं भने पनि सम्भव छैन। इमर्जेन्सीमा आएका मानिसलाई पनि भर्ना गर्न सकिएको छैन,’ डा. राजभण्डारीले भने, ‘बाँच्ने सम्भावना नदेखेका बिरामीलाई पनि सम्भावना छैन भनेर भेन्टिलेटरबाट निकाल्न मिल्दैन। अन्तिम अवस्थासम्म पनि बाँच्ने आश हुने रहेछ मानिसलाई।’

शुक्रराज अस्पतालमा परीक्षण गरिएका हरेक तीन जनामा एक संक्रमित भेटिइरहेका छन्। यो तथ्यांक हेर्दा हरेक परिवारमा संक्रमण फैलिएको देखिन्छ। ‘हामी निकै उच्च जोखिममा छौं। अहिले जति बिरामी देखिएका छन्, उनीहरु धेरैजसो घरभित्रै बसेका मानिस हुन्। यसको परिणाम हामी अनुमान लगाउन पनि सक्दैनौं,’ डा. राजभण्डारी अत्यासलाग्दो स्थितिको आकलन गर्छन्।

अस्पतालमा बिरामीको अवस्था गत वर्षको जस्तो सहज छैन। एक जनालाई प्रतिमिनेट १५ देखि ६० लिटरसम्म अक्सिजन दिनुपर्ने अवस्था छ। अघिल्लो चरणको संक्रमणमा अक्सिजन थोरै भए पनि पुग्थ्यो। बिरामीलाई केही मिनेट अक्सिजन दिएपछि सहज हुन्थ्यो तर अहिले घण्टौंसम्म अक्सिजन दिँदा पनि सहज भएको छैन। व्यवस्थापन गर्न गाह्रो भइसकेको छ,’ डा. राजभण्डारीले भने।

कतिपय बिरामी गाडी र एम्बुलेन्स रिजर्भ गरेर खबरै नगरी आउँदा पनि समस्या भइरहेको उनले सुनाए। ‘बेड खाली हुँदैन, जानकारी नै नगराई आउँदा बिरामीले दुःख पाइरहेका छन्। बेडको अवस्था बुझेर मात्रै अस्पताल आउनुस्। खबर नगरी आउँदा बिरामी यताउता भौंतारिनु पर्नेे हुन्छ र झन् जोखिम बढ्छ,’ डा. राजभण्डारीको सुझाव छ।

डा. राजभण्डारीसँग कुराकानी गरेर वार्डमा झर्दै गर्दा डा. अनुप बास्तोला भेटिए। पीपीई लगाएर उपचारमा खटिएका उनलाई पनि बिरामीकै चिन्ता छ। ‘एकै परिवारका चार जनासम्म भर्ना भएका छन्। पहिले एक जना संक्रमित हुँदा आइसोलसनमा राखेर अरुलाई जोगाएका थियौं, यो पटक त्यस्तो छैन। जोगाउनै गाह्रो छ। परिवारका सबै सदस्य अस्पतालमा भर्ना भएर बसेका छन्,’ डा. बास्तोलाले भने।

पछिल्लो समय बिरामीमा सुधार हुने अनुपात घट्दो छ। डा. बास्तोला भन्छन्, ‘बाहिर मानिसको भीडभाडले संक्रमण बढ्दो छ। यसको फैलावट कहाँसम्म पुग्छ भन्ने अनुमान गर्न पनि सकिएको छैन। कोरोनाको पहिलो लहर शिथिल हुँदा हामी फुक्काफाल भयौं, त्यसपछि भाइरस आक्रामक भएर आयो।’

एक्कासि बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्योल हरेक अस्पतालमा देखिएको छ। डा. बास्तोला भन्छन्, ‘तत्काल चेन ब्रेक नगरी हामीले सम्हालिने मौका पाउने छैनौं। यो डरलाग्दो समय हो।’

संक्रमित नै कुरुवा

कीर्तिपुर नगरपालिकाकी सविना महर्जन (नाम परिवर्तन) की आमा टेकु अस्पतालमा छिन् कोरोना संक्रमित भएर। चार दिनअघि कोरोना पोजेटिभ भएपछि आमालाई स्वासप्रश्वासमा समस्या भयो। उनले तत्कालै टेकु अस्पताल पुर्‍याइन्।

केही दिनमै दाइलाई पनि संक्रमण भयो। आमा र दाइको हेरचाह गर्दैगर्दा उनी आफैं संक्रमित भइन्। अहिले परिवारका तीनजना टेकु अस्पतालमा छन्। आफूलाई गाह्रो नभएकोले सविना आमा र दाइको हेरचाह गरिरहेकी छन्।

सविनाको परिवारका सबै ६ जना सदस्यलाई नै कोरोना पोजेटिभ भएको रहेछ। अस्पतालमा चार जना भर्ना भएका छन्। ‘हामी त अस्पतालमा छौं। केही समस्या भए यहीँ व्यवस्था होला। तर घरको अवस्था सम्झिँदा अत्तालिन्छु,’ सविना भन्छिन्। डा. अनुप भन्छन्, यस्ता अरु पनि बिरामी छन्, जो परिवारै यहाँ छन्।

 

प्रतिकृया दिनुहोस्