Monday, June 14

नेपालगञ्जमा कोरोना सङक्रमितको उपचारमा खटिएका डाक्टरको तस्विर !

April 27, 2021 130

कोरोना महामारीले आक्रान्त बनेको विश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो योगदान दिइरहेको छन् । कोरोना कहरको पहिलो चरणमा चीनका डाक्टर र नर्सहरूले मास्क हटाएपछिका अनुहारका तस्बिर भाइरल भएका थिए । धेरैले उनीहरुप्रति सहानुभूति प्रकट गरेका थिए ।

सार्वजनिक भएका तस्बिरमा उनीहरूको अनुहारभरि मास्कको नीलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना सङ्क्रमणको शिकार भएर ज्यान गुमाए ।अहिले नेपालमा पनि कोरोनाको दोस्रो लहर शुरु भएको छ । नेपाली डाक्टर र नर्सहरूले पनि अग्रपंत्तिमा रहेर बिरामीहरूको सेवा गरिरहेका छन् ।

अहिले स्वास्थ्य पेज नामक पेजमा हालेको डाक्टरको फोटोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भावुक भएका छन् । नेपालगन्ज मेडिकल कलेजको आइसोलेसनमा कोभिड सङ्क्रमित बिरामीहरूको उपचारमा दिनरात नभनी खटेका डा. बिनोद प्याकुरेलको फोटो उक्त पेजले सार्वजनिक गरेपछि प्रयोगकर्ताहरू दुःखी बनेका हुन् ।

सार्वजनिक भएको तस्बिरमा लामो समयसम्म लगाएको ग्लोब्सले बाफिएर हातका औँलाहरू सेता छन् । हत्केलाका छाला चाउरिएको छ । घण्टौँसम्म लगाइएको पिपिईले शरीरमा मसिना दाना निस्किएका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसन वार्डमा सङ्क्रमितको उपचारमा सात दिन बिताएका डा. विनोद प्याकुरेलको अवस्था हो यो । न भोक, न प्यास, नत निद्रा उनी भन्छन् ‘सङ्क्रमितको उपचार गर्दा गर्दै आफै बिरामी परे ।’ सोमवार कोभिड आइसोलेसनबाट निस्किएका डा प्याकुरेल अहिले औषधि लिएर होम आइसोलेसनमा बसेका छन् ।

ग्लोब्स, पिपिई, फेसशिल्ड लगाएर घण्टौँसम्म बिरामीको उपचारमा खटिनु पर्ने अवस्था आयो । ‘न भोक, न त प्यास, न निद्रा, न त डर डा. प्याकुरेल भन्छन्–‘बिरामीको चित्कार र पीडाले घण्टौँ समय पनि एकैछिनमा बितेको जस्तै लाग्ने ।’

प्रतिकृया दिनुहोस्