Monday, June 14

खोकी संगै यस्ता लक्षण देखिए हुनसक्छ कोरोना

April 26, 2021 153

अहिले कोरोनाको दोस्रो लहर महामारीका रुपमा नेपालमा पनि फैलिएको छ । अहिले मौसम परिवर्तनको पनि समय हो । चिसो मौसमवाट गर्मी मौसम सुरु हुँदै गरेको बेलामा रुघा खोकी लगायतका मौसमी फ्लु आउने सम्भावना पनि उत्तिकै छ । त्यसैले रुघा खोकी लाग्दा मौसमी फ्लु हो वा कोरोना हो छुट्याउन कठिन हुन्छ । यदि सुख्खा खोकी संगै यस्ता लक्षण छन् भने कोरोना हुनसक्ने भएकाले तत्काल परिक्षण गराउनुपर्ने हुनसक्छ ।

सुख्खा खोकी कोरोनाभाइरसको एउटा साधारण लक्षण हो । एक रिपोर्टमा दाबी गरिए अनुसार ५९ देखि ८२ प्रतिशत कोरोना बिरामीलाई सुरुमा सुख्खा खोकी लाग्छ । डब्ल्यूएचओ र चीनको फेब्रुअरी २०२० को एक साझा शोधका अनुसार ६८ प्रतिशत मानिसहरुमा सुख्खा खोकीको लक्षण भेटियो जुन दोस्रो सबैभन्दा साधारण लक्षण हो ।

कस्तो हुन्छ सुख्खा खोकीः सुख्खा खोकीको अर्थ हो – खोकी लाग्दा खकार नआउनु । साधारणतया यस्तो खोकी चिसो लाग्दा वा फ्लूमा मात्रै देखिन्छ । यद्यपि, सुख्खा खोकी कुनै एलर्जीको पनि संकेत हो । त्यसैले कोभिड–१९ को परीक्षण पछि मात्रै यो विषयमा स्पष्ट हुन सकिन्छ ।

लगातार खोकी लाग्नुः यदि तपाईंलाई लगातार खोकी लागिरहेको छ भने यो कोरोनाभाइरस लागेको संकेत हुनसक्छ । कोभिड–१९ मा बिरामीको गलाबाट खोकी लाग्दा लगातार एक प्रकारको आवाज निस्कन्छ । यसले मानिसहरुको आवाजमा पनि थोरै प्रभाव पार्छ । लगातार लाग्ने खोकीले घाँटीको एयरवेजलाई प्रभाव पार्ने भएकोले यस्तो हुन्छ ।

सास फेर्न समस्याः खोकी र ज्वरोसँगै सास फेर्न समस्या भएको छ भने यो कोरोना भाइरस भएको एउटा बलियो संकेत हो । वास्तवमा लगातार खोकी लाग्दा हाम्रो सास नलीमा असाध्यै धेरै दबाब पर्छ । यस्तो स्थितिमा मानिसहरुको सास फुल्ने गर्छ । यदि यस्तो हो भने यो मौसमी फ्लू नभइ कोरोनाभाइरस हो । एक शोधमा करिब ४० प्रतिशत कोरोना संक्रमित बिरामीले सास फेर्न समस्या भएको स्वीकार गरेका छन् ।

घाँटी दुख्नुः ​घाँटी कुनै नन सिरियस डिजिज वा कोरोनाभाइरसका कारण दुख्नसक्छ । यो एक निकै असामान्य लक्षण हो जुन बिरामीमा भिन्न तरिकाले देखिने गर्छ । कोरोनाभाइर िनाक र घाँटीको झिल्लीमा प्रवेश गरेर घाँटी सुन्निने र घाउ हुने गर्छ । यदि तपाईंलाई सुख्खा खोकी, ज्वरो, थकानका साथै घाँटी दुख्छ भने यो कोल्ड वा फ्लू नभई कोरोनाभाइरस हुनसक्छ ।

सुँघ्ने क्षमता गुम्नुः चिसो र रुघा–खोकी लाग्दा मानिसको नाक बन्द हुनु स्वभाविक हो । तर यदि सुख्खा खोकी र ज्वरोका साथै तपाईंको सुँघ्ने क्षमतामाथि पनि प्रभावित भइरहेको छ भने यो कोरोनाभाइरसको लक्षण हो । एक रिपोर्टका अनुसार कोरोनाभाइरस संक्रमित करिब ४१ प्रतिशत रोगीमा यो लक्षण देखिएको छ ।

कोरोनाभाइरसको स–साना लक्षण पनि बुझ्न जरुरी छ । कोरोना लक्षणको सुरुवातमा पहिचान गरेर तपाईं गम्भीर रुपमा बिरामी हुनबाट आफूलाई जोगाउन त सक्नुहुन्छ, यसो गरेर तपाईंले अरुको पनि ज्यान जोगाउन सक्नुहुन्छ ।

शरीरमा कुनै पनि लक्षण देखिने बित्तिकै घरका अन्य सदस्यबाट आफूलाई टाढा राख्नुहोस् । करिब दुई हप्तासम्म मानिसहरुको सम्पर्कमा आउनबाट जोगिनुहोस् । मास्क राम्रोसँग लगाउनुहोस् । लगातार हात धुनुहोस् र डाक्टरको सल्लाहमा औषधीको प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्