Sunday, October 25

यसपालिको दशैँमा घरमा पूजा, इन्टरनेटबाट आशीर्वाद…..::संस्कृतिविदको सुझाब…!

October 6, 2020 26

काठमाडौँ- कोरोना भाइरस संक्रमणको रोग अर्थात कोभिड-१९ का कारण वैशाख यता धेरै चाडपर्वहरू ओझेलमा परे । भक्तपुरको प्रख्यात बिस्केट जात्रा, ललितपुरको रातो मच्छेन्द्रनाथ र काठमाडौँको इन्द्रजात्रा लगायतका थुप्रै जात्राहरूमा विधि पुर्‍याउने काम मात्रै भयो ।

जनै पूर्णिमामा हिन्दू मन्दिरहरू बन्द रहे । तीज र कृष्ण जन्माष्टमी पनि घरमै मनाइए । इस्लाम धर्मवलम्बीको इदमा घरमै प्रार्थना भयो, मस्जिदहरू बन्द रहे ।अब नजिकै हिन्दुहरूको ठूलो चाड दशैँ आउँदैछ ।

दशैँपछि तिहार र अर्को ठूलो पर्व छठ आउँछ । यी चाड मनाउन राजधानी काठमाडौँमा अस्थायी बसोबास गरेको ठूलो जनसंख्या बहिरिन्छ । चाड सकिएपछि काठमाडौँ आउनेको घुइँचो हुन्छ । दशैँमा देशैभर आफ्ना पारिवारिक अग्रजहहरू भेट्न ठूलो जनसंख्याले यात्रा गर्छ ।

यस वर्ष भने कोभिडका कारणले मानिसहरूमा यात्रा र भेटघाटमा अन्योल छाएको छ । कसैलाई जे पर्ला पर्ला चाड त मनाइन्छ भन्ने छ त कसैलाई चाडपर्व त फेरि पनि आउँछ, कोरोना ओसारपसार गर्नु हुँदैन भन्ने छ ।

यसकारण मनाइन्छन् चाडपर्व***

संस्कृतविद् प्राध्यापक वीणा पौडेलका अनुसार हिन्दुहरूको आदिग्रन्थ वेदमा शारीरिक तथा मानसिक स्वास्थ्य र सुरक्षाबारे उल्लेख गरिएको छ । शरीरको संरक्षण गरेर दीर्घजीवी हुनेबारे लेखिएको छ ।

वीणा भन्छिन्, ‘हाम्रा ग्रन्थहरूमा स्वस्थ शरीर भएर लामो आयु बाचूँ भन्ने कामना गरिएको छ । स्वस्थ भएर बाँच्न सन्तुलित आहारा र सकरात्मक सोच अपरिहार्य हुन्छ । त्यही क्रममा कृतज्ञता ज्ञापन गरिन्छ । संसारको सृष्टि गर्ने ईश्वरप्रति कृतज्ञता ज्ञापन गर्ने क्रममा चाडपर्वहरू मनाइएका हुन् ।’

उनका अनुसार सनातन धर्मको सबैभन्दा ठूलो पक्ष कृतज्ञता ज्ञापन हो । सबै चाडपर्वहरूमा मानिस, पृथ्वीका समस्त प्राणी तथा वनस्पतिको स्वास्थ्य र सुरक्षाको कामना गरिन्छ ।

यो संरचनामा सन्तुलन बनाउने ईश्वरप्रति कृतज्ञता प्रकट गरिन्छ । यसमा अनेक समुदायमा अनेक परम्पराहरू छन् तर कामना र कृतज्ञता एकै हो ।

ईश्वरप्रतिको कृतज्ञतापछि चाडपर्वको अर्को महत्वपूर्ण पक्ष पारिवारिक सद्भाव, पुनर्मिलन र इष्टमित्रसँग भेटघाट हो । दशैँमा नवदुर्गाको आराधना हुन्छ । यस्तो आराधना सामान्यतया घरकै पुजाकोठा हुन्छ ।

प्राध्यापक वीणाको आग्रह छ, ‘यस वर्ष जो जहाँ छौँ, त्यही बसेर नवदुर्गाको पूजाआराधना गरौँ, नगरी नहुनेबाहेक भेटघाट नगरौँ । घरका वृद्धहरूलाई सुरक्षित राखौँ ।’ कोरोना भाइरसबाट बच्न सके चाडपर्वहरू रितिरिवाजअनुसार फेरि पनि मनाउन सकिने उनको भनाइ छ ।

वीणाको सुझाब छ, ‘घरमा हुने अग्रजले सबैको सुवास्थ्य र समृद्धिको कामना गर्दै पूजा आराधना गर्ने, भर्चुअल अर्थात इन्टरनेटबा माध्यमबाट आशीर्वाद दिने-लिने ।’

चाडपर्व कहिल्यै मासिँदैन***

गत भदौ १८ गते ललितपुरमा मच्छेन्द्रनाथको रथयात्रामा झडपको स्थिति सिर्जना भयो । प्रहरी र रथयात्रामा सहभागीहरू घाइते भए । अनन्तः समाधान निस्कियो । परम्परा पनि मानिने र स्वास्थ्य सुरक्षा पनि हुने मध्यमार्ग फेला पर्‍यो ।

एकपटक सबै परम्परा पूरा गर्न नसके पनि मासिएर नजाने र सहज अवस्थामा पुनस्र्थापित हुने वीणाको भनाइ छ । ‘कोभिडले विश्वलाई नै सताइरहेको छ । हाम्रो देशमा पनि फैलिने क्रम बढ्दो छ,’ वीणा भन्छिन्, ‘पहिले हामी स्वस्थ रहनुपर्‍यो, अनिमात्र चाडको महत्व हुन्छ । चाडको महत्व नै ईश्वरको आराधना गर्नुमा तथा सुस्वास्थ्य र समृद्धिको कामना गर्नुमा छ ।’

आशीर्वाद लिन भर्चुअल माध्यम

‘मेरो घरमा ८० नाघेका आमाबुबा हुनुहुन्छ तर दशैँमा म जान पाइनँ नभनौँ, प्राध्यापक वीणाको सुझाव छ, ‘यसपटक आफू टाढै बसेर घरका वृद्ध अग्रजहरूको सुस्वास्थ्यको कामना गरौँ, इन्टरनेटको माध्यमबाट आशीर्वाद लिऔँ, सबै जना सुरक्षित हुने उत्तम उपाय यही नै हो ।’

यसपालिको दशैँमा दुर्गा भवानीसँग कोरोना भाइरससँग लड्ने थप शक्तिका लागि आराधना गर्न प्राध्यापक वीणाको आग्रह छ । दशैँको पहिलो पक्ष शक्तिको लागि दुर्गाभवानीको पूजाआराधना हो, जो घरबाटै हुन्छ ।

अर्को पक्ष परिवारका अग्रजबाट दुर्गाभवानीको प्रसादका रूपमा टीकाजमरा र आशीर्वाद ग्रहण हो, जसमा यसपालि इन्टरनेटको माध्यमबाट गरौँ ।[][]

प्रतिकृया दिनुहोस्