Sunday, May 16

कोरोना संक्रमित ह्वातै बढेपछि देशव्यापी लकडाउनको बिषयमा बोले प्रधानमन्त्री

April 25, 2021 101

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

शनिबार (हिजाे) प्रधानमन्त्री निवास बालुवाटार पुगेका सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका सदस्यले कोरोना संक्रमणको अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए।

‘प्रधानमन्त्री ज्यूले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। संक्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ भन्नुभयो। तर, तत्कालै लकडाउन गरिहाल्ने अवस्था नरहेकाे बताउनु भयाे,’ शनिबारको ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले भने।

यस्तै, प्रधानमन्त्री ओलीले पछिल्लोपटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्।

‘सरकारले गरेकाे निर्णय विपरीत रंगशालमा धेरै दर्शक राखेर खेल खेलाइएको र बढी भिडभाड भइरहेको छ भनेर गुनासो गर्नुभयो। यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन उहाँले निर्देशन दिनुभयो,’ सचिव बरालले भने।

नेपालमा पछिल्लाे समय दैनिक दुई हजार बढीको दरमा काेराेना संक्रमित थपिन थालेका छन्। शनिबार मात्रै २ हजार ६१८ जना कोरोना संक्रमित थपिएका छन्।

कोरोना संक्रमण फैलिने क्रम बढेपछि काठमाडाैं तथा ठूला सहरका विद्यालय बन्द गरिएकाे छ भने रात्रीकालीन व्यवसायलाई पनि राति ८ बजेपछि सञ्चालनकाे अनुमति दिइएकाे छैन।

यस्तै, सरकारले सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ भने सिट क्षमताभन्दा बढी यात्रु नराख्न भनेको छ। स्वास्थ्य खबर बाट

प्रतिकृया दिनुहोस्