Tuesday, July 27

भारतमा अक्सिजन अभाव : छट्पटाउँदै संक्रमित, स्टील उद्योगमा स्टक !

April 25, 2021 132

भारतलाई यतिखेर कोरोना महामारीको दोस्रो लहरले नराम्ररी लपेटेको छ। दैनिक ३ लाख ५० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् र ३ हजार हाराहारीमा मानवीय हताहती हुने गरेको छ।

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सास लिन गाह्रो पर्छ। त्यसैले, उनीलाई सास फेर्न सहज बनाउन अक्सिजन अत्यावश्यक हुन्छ।

तर, भारतको राजधानी नयाँदिल्ली लगायत देशका कयौं शहरहरूमा तरल अक्सिजन चरम अभाव भएको खबरहरू सार्वजनिक भएका छन्। त्यहाँको अदालतले त अक्सिजन आपूर्तिमा जोसुकैले अवरोध गरेपनि मृत्युदण्डको भागीदार हुने चेतावनी दिइसकेको छ।

अहिले भारतमा कोरोनाको भयावहता जस्तो छ, अक्सिजन अभाव हुँदा त्यो भन्दा जटिल स्थिति निम्तिएको छ। उपचार हुँदाहुँदै अक्सिजन सकिएपछि अस्पतालहरूमा एकैसाथ दर्जनौं संक्रमितको मृत्यु भइरहेको छ। गम्भीर अवस्थामा पुगेका बिरामीहरूले अक्सिजन अभावकै कारण ज्यान गुमाइरहेका छन्।

 

घाटले नथेगेपछि भारतमा खेतैभरि चिता र चिहान
दिल्लीस्थित जयपुर गोल्डन अस्पतालमा अक्सिजन अभाव हुँदा शुक्रबार राति २० जना संक्रमितको ज्यान गयो।

एलएनजेपीजस्ता सरकारी तथा सरोज र फोर्टिसजस्ता सुविधासम्पन्न भनिने निजी अस्पतालमा बिरामी र स्वास्थ्यकर्मी अक्सिजन अभावसँग जुधिरहेका छन्। अक्सिजन अभावले अवस्था निकै खराब भएपछि केही अस्पतालहरू उच्च अदालत पुगेका छन्।

पश्चिममा महाराष्ट्र र गुजरात, उत्तरमा हरियाणादेखि मध्य भारतको मध्य प्रदेशसम्म सबै स्थानमा मेडिकल अक्सिजनको चरम अभाव भएको छ। उत्तर, प्रदेशका केही अस्पतालहरूले त बाहिर नै अक्सिजन सकिएको बोर्ड लगाउन थालेका छन्।

लखनउका अस्पतालहरूले अक्सिजन अभावकै कारण बिरामीहरूलाई अन्यत्र जान आग्रह गरिरहेका छन्। दिल्लीका ठूला–साना सबै अस्पतालहरूले यसै गरिरहेका छन्। कयौं शहरमा संक्रमितका परिवारजन आफैं खाली सिलिन्डर लिएर अक्सिजन भर्न लाइन लागिरहेका छन्।

महाराष्ट्रको नासिकको डा. जाकिर हुसैन अस्पतालमा अक्सिजन अभाव हुँदा अहिलेसम्म २२ संक्रमितको मृत्यु भइसकेको छ। त्यहाँ उपचार कक्षमा पठाइएको अक्सिजन लिक हुँदा करिब आधा घण्टासम्म छट्पटाउँदै बिरामीको ज्यान गएको हो।

भारतमा यतिखेर उपचार पर्खँदा–पर्खँदै बिरामीको ज्यान गइरहेको छ। उपचार पाउन अस्पताल धाउँदा–धाउँदै संक्रमितहरूको जीवन निख्रिएको छ।

अस्पतालमा शय्या मिलेपनि अक्सिजन अभाव छ। उनीहरूलाई बचाउन चिकित्सकहरूलाई हम्मेहम्मे परिरहेको छ। विद्युतीय सामाजिक सञ्जालहरूमा अक्सिजन सिलिण्डरको माग गरिएका लाखौं अपीलहरू देख्न सकिन्छ।

केही राज्यमा सहज स्थिति

भारतका केही राज्यले भने अक्सिजन व्यवस्थापनमा सुझबुझपूर्ण काम गरेका छन्। केरलले पहिले नै अक्सिजन सप्लाई बढाइदिएको थियो। वितरणमा कडा निगरानी गरेको थियो।

महामारीको दोस्रो लहर शुरू हुनासाथ त्यहाँ अक्सिजन सप्लाई बढाउने योजना अघि सारिएको थियो। केरलमा अहिले मागभन्दा धेरै अक्सिजन छ र अन्य राज्यमा पनि पठाउने गरिएको छ।

तर, दिल्ली र केही अन्य राज्यसँग आफ्नै अक्सिजन प्लान्ट छैन। उनीहरू अक्सिजन उत्पादन गर्ने अन्य राज्यमा निर्भर छन्। महामारीबाट बढी प्रभावित राज्यहरूकै हालत यस्तो छ।

भारतको महाराष्ट्र यतिखेर कोरोना कहरबाट सबैभन्दा प्रभावित छ। भारतभर रहेका कोरोना संक्रमितमध्ये एक तिहाइ त त्यहाँ नै छन्।

 

भारतमा भेटिएको कोरोना भेरियन्ट यसकारण खतरनाक !
त्यहाँ हरेक दिन १ हजार २०० टन अक्सिजन उत्पादन भएको छ। उत्पादित सबै अक्सिजन कोरोना संक्रमितको उपचारमा खर्च भइरहेको छ।

संक्रमण जुन गतिमा फैलिरहेको छ, सोही दरमा अक्सिजन माग पनि चुलिँदो छ। महाराष्ट्रमा अहिले दैनिक १ हजार ५०० देखि १ हजार ६०० टन अक्सिजन ग्यास माग भइरहेको छ। यो माग घट्ने कुनै संकेत छैन।

पूणेमा कोभिड अस्पताल चलाइरहेका डा. सिद्धेश्वर सिन्देले भनेका छन्, ‘पहिले पर्याप्त अक्सिजन आपूर्ति हुने गरेको थियो, तर, अहिले मानिसहरूको सास जोगाउन नै मुस्किल परिरहेको छ, २२ वर्षका युवाहरूलाई पनि कोरोना संक्रमण भएको छ र उनीहरू अक्सिजन नपाएर छट्पटाइरहेका छन्।’

चिकित्सक र महामारी विशेषज्ञहरूले कोरोनाका मामिला निकै बढिरहेको, तर, परीक्षण र औषधिका लागि कुर्न परिरहेको बताएका छन्। ढिला उपचार गर्न
आएका कारण अस्पतालमा भर्ना भएपनि उनीहरूको अवस्था खराब भइरहेको छ।

स्वास्थ्यस्थिति खराब भएका कारण मानिसहरू धमाधम अस्पतालहरूमा भर्ना भइरहेका छन्। यसैकारण अक्सिजन माग अत्यधिक हुनेगरेको छ। हाइ–फ्लो अक्सिजन माग बढेका कारण आपूर्ति पनि बढाउन अत्यावश्यक भैसकेको छ।

डा. सिन्दे भन्छन्‌, ‘यस्तो स्थिति कहिले अन्त्य हुन्छ भन्ने कसैलाई थाहा छैन, सरकारले पनि अवस्थालाई नजरअन्दाज गरिरहे जस्तो लाग्छ।’

ढुवानी नै प्रमुख समस्या

विशेषज्ञहरू भारतमा मेडिकल अक्सिजन पर्याप्त रहेको, तर, अत्यावश्यक स्थानमा पुर्‍याउन नसक्नु नै मुख्य समस्या भएको बताउँछन्।

आइनाक्स एअर प्रोडक्सनका निर्देशक सिद्धार्थ जैनका अनुसार कोरोना महामारी फैलनुभन्दा पहिले भारतमा प्रतिदिन ६ हजार ५०० मेट्रिकटन थियो। अहिले उत्पादन १० प्रतिशत बढाएर ७ हजार २०० मेट्रिकटन पुर्‍याइएको छ।

कोरोना फैलनुअघि भारतमा हरेक दिन ७०० टन मेडिकल अक्सिजन आवश्यक थियो। अहिले अक्सिजन माग ५ हजार मेट्रिकटन पुगिसकेको छ।

अल इन्डिया इन्डस्ट्रियल ग्यासेज मेनुफ्य्राक्चर एसोसिएसनका प्रमुख साकेत टिकुले भनेका छन्, ‘महाराष्ट्रमा मेडिकल अक्सिजन आवश्यक छ, तर, पूर्वी भारतको राउरकेला र हल्दियाका स्टील उद्योगमा स्टक बसिरहेको छ।’

मेडिकल अक्सिजनलाई स्थानान्तरण गर्न एक विशेष प्रकारको ट्यांकर आवश्यक पर्छ, जसलाई क्रायोजेनिक ट्यांकर भनिन्छ।

 

महाराष्ट्रको एक अस्पतालमा अक्सिजन चुहावट, कम्तीमा २२ को मृत्यु
यी ट्यांकर भर्न घण्टौंसम्म लाइनमा राख्नुपर्छ। किनकी एक ट्यांकर भर्न कम्तिमा २ घण्टा समय लाग्छ। भरेपछि पनि कयौं शहरहरूमा पुर्‍याउन घण्टौँ समय लाग्छ।

यी ट्यांकर सीमित गतिमा चलाउनुपर्छ। प्रतिघण्टा ४० किलोमिटर गति रहन्छ। दुर्घटना हुने डरका कारण राति पनि चलाइँदैन।

राज्यबीच आरोप–प्रत्यारोप

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यबाट ल्याइएका अक्सिजन ट्रक रोक्ने गरिएको आरोप लगाइरहेका छन्। केन्द्र सरकारले नै पर्याप्त अक्सिजन नदिएको उनको आरोप छ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले भने दिल्ली सरकारले मागेभन्दा पनि धेरै अक्सिजन दिएको दाबी गरेका छन्। दिएको अक्सिजन वितरण गर्ने काम राज्य सरकारकै भएको उनी बताउँछन्।

 

 

प्रतिकृया दिनुहोस्