Monday, November 29

नेपालीहरूलाई नआत्‍तिन भन्दै भारतमा रहेका दूतावासको यस्तो आग्रह

April 20, 2021 171

काठमाडौं । छिमेकी भारतमा कोभिड-१९ को दोस्रो लहर चलेसँगै त्यहाँ रहेका नेपालीहरू समेत अन्यौलमा परेका छन् । कोही घर फर्कन खोजेका छन् भने कोही त्यहाँ कसरी बस्‍ने भन्‍ने तनावमा रहेको जानकारी अध्ययन र कामका लागि त्यहाँ पुगेकाहरूले बताउने गरेका छन् ।

अधिकांश प्रवासी नेपालीहरू भने कसरी घर फर्कने भन्‍नेमा नै छन् । दिल्ली, उत्तर प्रदेश, मुम्बई, बैंगलोर लगायतमा नेपालीहरू अधिक रहेका र त्यहाँ नै कोभिड संक्रमण बढेपछि समस्या भएको हो । उनीहरू नहडबडाईकन यथा स्थानमा रहन र आफ्नो सुरक्षा अवलम्बन गर्न दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

यदि घर नै जाने भए पनि अत्तालिएर होइन सुझ बुझका साथ एक अर्कामा सहकार्य गरेर अघि बढ्न आवश्यक हुन्छ । घर जान नै पर्ने हुँदा नअतालिकन घर जान दूतावासको सुझाव छ । कतिपय स्थानमा लकडाउन भइसकेकाले त्यहाँको नियम पालना गर्न र समस्या भए दूतावासमा सम्पर्क गर्न पनि दूतावासको सुझाव छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले कोभिड(१९ मात्र होइन अन्य कुनै कारणले नेपाली अलपत्र पर्ने अवस्था आएको खण्डमा दूतावासको सम्पर्कमा आउन आग्रह गरेका छन् । दूतावास आफ्नो नागरिकलाई सहयोग गर्न सधै तयार छ । तर अहिले अत्तालिएर हिड्न आवश्यक नभएको पनि उनले बताए ।

समस्या नै परेको भए तत्काल दूतावासमा सम्पर्क गर्न आवश्यक छ । अलपत्र पर्ने अवस्था आएमा सिधै सम्पर्क गर्न उनले त्यसमा जोड दिएका छन् । भारतमा राज्य सरकारबाट लकडाउन घोषणा समेत भएको छ । नेपाली कुनै समस्यामा परेको भए दूतावासको नियमित नम्बर र हटलाइन ०११२३४७६२०० मा टेलिफोन सम्पर्क गरेर सम्वन्धित निकायसम्म पुर्याउने छन् ।

भारतमा दूतावास मात्र नभएर नेपाली समूदाय, सहयोगी हातहरु, संघसंस्था पनि भएकोले सबैको सहयोग लिन पनि राजदूत आचार्यले सुँझाएका छन् । कही कतैबाट सहयोग नभएको अवस्थामा दूतावासको सम्पर्कमा आउन सुझाए दिएका छन् ।

प्रतिकृया दिनुहोस्