Tuesday, October 20

सरस्वती चौधरी नेपालकै सबैभन्दा अग्ली महिला, १२ बर्षको उमेरमा घर छोडेर भलिबल सिकेकी चौधरीको कथा…!

October 5, 2020 246

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो सपना चाहिँ आर्मी बनेर देशको सेवा गर्ने थियो । भलिबल खेलाडी बन्ने कुरा त मेरो कल्पनामै थिएन ।

तपाईंलाई पत्यार नलाग्ला, १२ वर्षको उमेरसम्म म खेलकुदबारे अन्जान थिएँ । भलिबल त झन् छोएकै थिइनँ । कैलालीको धनगढी प्रगति टोलमा रबरको चुङ्गी उछाल्नु र मोजा पोको पारेको बलले ढुंगा ढलाउनु नै मेरो खेलको संसार थियो । खेलाडी बन्ने र व्यावसायिक रुपमा खेल्ने कुरा मेरो सोच र समझभन्दा टाढा थियो ।

भलिबलको पहिलो प्रतियोगितामा पहिलो सर्भिस उठाउन नसकेकी म यही खेलमा लागेर राम्रो स्पाइकर हुन्छु, राष्ट्रिय टिमसम्म पुग्छु भन्ने कहिल्यै सोचेकै थिइनँ ।

२०६४ सालको कुरा हो, धनगढीमै मालिका इंग्लिस स्कूलमा कक्षा ६ को परीक्षा दिएर बसेकी थिएँ । घर नजिकैका विष्णु चौधरी दाइ आएर एकाएक भन्नुभयो, ‘सरस्वती तिम्रो हाइट राम्रो छ, तिमीले भलिबल खेल्नुपर्छ ।’

विष्णु दाइ भलिबल प्रशिक्षक हुनुहुन्थ्यो । उहाँको छोराछोरी पनि भलिबल खेल्थे । तर, उहाँले भन्नुभएको कुरालाई मैले खासै गहन रुपमा लिइनँ ।

सानोमा म अलि लजालु थिएँ । धेरै बोल्दैन थिएँ । साथीहरु पनि धेरै थिएनन् । खेलकुदमा त्यति रुची पनि थिएन । भलिबल त झन् मैले एकपटक छोएकी पनि थिइनँ । त्यसैले विष्णु दाइको कुरा मैले एउटा कानले सुनेर अर्को कानले उडाइदिएँ । विष्णु दाइको कुरा सुनेर, ‘म त खेल्दिनँ’ भन्दै भागेकी थिएँ ।

काठमाडौंमा गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको रहेछ । त्यसका लागि सुदूरपश्चिमबाट आउने महिला टिमको तयारी भइरहेको रहेछ । परीक्षा सकेर बसेकाले म फुर्सदमा थिएँ ।

मैले पन्छाउन खोजे पनि विष्णु दाइले मेरो पिछा छाड्नुभएन । अग्ली भएकाले यसलाई भलिबल सिकाउन सकियो भने राम्रो खेल्छे भन्ने उहाँलाई लाग्यो होला । सायद मभित्रको खेलाडी प्रशिक्षकको आँखाले त्यतिबैलै चिनिसकेको थियो कि ।

उहाँले मलाई भलिबल खेलाउने कुरा गर्दा गणतान्त्रिक भलिबल सुरु हुन एक हप्ता मात्रै बाँकी थियो । अन्ततः म तयार भएँ । तीन-चार दिनमा जे-जति सकिन्छ सिकें । तर, अझै पनि भित्रैदेखि रुची जागेको थिएन ।

विष्णु दाइले बाबाआमासँग कुरा गरेपछि बाबाले पनि जाउ न त भन्नुभएरै अलि अलि रहर पनि हुन थालेको थियो । बाबाले जाउ भनेपछि नै राम्रै कुरा रहेछ भनेर सोचेकी थिएँ ।

तीन-चार दिनको अभ्यासले नै म गणतान्त्रिक भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिमको टिममा छानिएँ । त्यसबाट नै तपाइँले त्यो बेला महिला भलिबलको अवस्था कस्तो थियो भन्ने अड्कल गर्न सक्नुहुन्छ ।

हामी भलिबल प्रतियोगिताका लागि काठमाडौं आयौं । अरु जे भए पनि काठमाडौं आउन पाउँदा खुशी भएँ ।म प्लेइङ सेटमा त थिइनँ, तर पनि अन्तिम खेलमा पश्चिमाञ्चलविरुद्ध हामीले हार्ने जस्तो अवस्थामा कोचले मलाई खेलाउनुभयो । अन्तिम सेटमा हामीले हार्नका लागि दुई अंक मात्रै बाँकी थियो ।

त्यो बेला सम्झँदा अहिले अचम्म लाग्छ । बल कसरी डिगिङ गर्ने, कसरी फिङ्गरिङ गर्ने भन्ने मेरो ढंग नै थिएन । उताबाट सर्भिस आयो, मेरै टाउको माथिबाट आएको बल पनि निहुरिएर छाडिदिएँ । सबै दर्शक गलल हाँसे । मलाई नमज्जा लाग्यो । लाज पनि लाग्यो । उठाउनु पर्ने बल रहेछ भन्ने बल्ल बुझें ।

कोर्टमा गएर खेल्दा कस्तो हुने रहेछ भन्ने त्यो अनुभव अहिलेसम्म पनि काम लागिरहेको छ । हेरेर सिक्ने र खेलेर सिक्ने कुरामा कस्तो भिन्नता हुन्छ भन्ने मैले थाहा पाएँ । त्यो पहिलो प्रतियोगिताले नै मेरो खेलाडी बन्ने ढोका खोल्यो ।

हामीले नराम्ररी हारे पनि, मैले सर्भिस नै उठाउन नसके पनि मेरो हाइटको भने चर्चा भएका थियो । अहिले ६ फिट अग्ली छु । त्यो बेला पनि मेरै उमेरका अरुभन्दा हाइट राम्रो थियो ।

यसले केही गर्छे भन्ने लागेर पश्चिमाञ्चलका प्रशिक्षक बलराम क्षेत्रीले पोखरामा फिस्टेल एकेडेमीमा बसेर पढ्ने र भलिबल खेल्ने प्रस्ताव गर्नुभयो । बलराम सरलाई म आफैले जवाफ दिन सकिनँ । त्यसैले उहाँले बाबासँग पनि फोनमा कुरा गर्नुभयो ।

पोखरामा अभ्यास पनि राम्रो हुन्छ भनेर बलराम सरले भन्नुभएको थियो । बाबालाई पनि खेलकुद र पढाइ दुवै राम्रो हुन्छ भने किन नपठाउने त भन्ने लाग्यो होला । उहाँको स्वीकृतिपछि मेरो खेल जीवनले नयाँ मोड लिएको हो ।[][]

[][]

प्रतिकृया दिनुहोस्