Saturday, October 23

हाँगोखोलामा खोलामा पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु

April 15, 2021 520

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुई जना साथी पनि घाँस काट्नसँगै गएका थिए । सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् । दुवैको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । आज बिहान १०÷११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्