Friday, July 30

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्तीको मापदण्ड झन् कडा

April 13, 2021 221

अब रजिस्ट्रेसन, क्षेत्रीय र केन्द्रीय छनोटसम्मका प्रक्रिया पोखराबाटै
ब्रिटिसतर्फ १ सय १० जनाको कोटा घटाइयो
काठमाडौँ — बेलायत सरकारले अब ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिस्ट्रेसन, क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने भएको छ । यसअघि पूर्वतर्फको छनोट धरानबाट गर्ने गरिएकोमा अब पोखराबाटै गर्न लागिएको ब्रिटिस आर्मी मुख्यालयको वेबसाइटमा उल्लेख छ ।

नेपाली युवाको चाप बढेपछि बेलायतले भर्ती प्रक्रियामा कडा नीति अपनाएको छ । मुख्यालयको वेबसाइट आर्मी डट एमओडी डट यूकेले रेक्रुट इन्टेक–२०२२ का निम्ति सार्वजनिक गरेको सूचनाअनुसार ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका लागि १ सय ४० जना छनोट गरिनेछ । ब्रिटिसतर्फ विगत वर्षभन्दा १ सय १० जनाको कोटा घटाइएको हो ।
यसपटक प्रतिस्पर्धीले नाम लेखाउने बेलामै गणितको जाँच दिनुपर्ने भएको छ । त्यसैगरी १२ पटक ओभरआर्म हेभिङ, २० किलोको भारी बोकेर रिपिटेड लिफ्ट एन्ड क्यारी दौड १ मिनेट ४६ सेकेन्डमा पार गर्नुपर्नेछ । यसअघि क्षेत्रीय छनोटमा मात्र यस्तो स्पर्धा गराइन्थ्यो । साथै साधारण मेडिकल चेकअप गरिनुका साथै न्यूनतम १ सय ५८ सेन्टिमिटर उचाइका प्रतिस्पर्धी बडी मास इन्डेक्स (बीएमआई)का आधार छनोट हुन हुनेछन् । एसईईमा अंग्रेजी र गणितमा कम्तीमा ‘सी ग्रेड’ हासिल गरेको हुनुपर्ने छ । प्रतिस्पर्धीले आफ्नो नागरिकता र राहदानी, बाबु–आमाको नागरिकताका साथै गाउँ/नगरपालिकाबाट ठेगाना प्रमाणित भएको सिफारिस बुझाउनुपर्नेछ । नाम दर्ता गराउन आगामी जेठ १० देखि साउन १४ सम्मको समय तोकिएको छ । प्रारम्भिक चरणमै कोरोना भाइरसको लक्षण नदेखिएको र दस दिन क्वारेन्टाइनमा बसेको प्रमाण पेस गर्न भनिएको छ । भदौ १३ देखि असोज २४ गतेभित्र हुने क्षेत्रीय छनोटमा शैक्षिक जाँच, अंग्रेजी भाषा, शारीरिक तथा स्वास्थ्य परीक्षण र अन्तर्वार्ताको सामना गर्नुपर्नेछ । यसै गरी २ मिनेट ३० सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्नुपर्नेछ । यसअघि २ मिनेट ४० सेकेन्ड समय दिइन्थ्यो । अब दायाँ–बायाँ हातमा २०–२० किलोका जेरिक्यान बोकेर २ सय ४० मिटर दुरी दुई मिनेटमा पार गर्नुपर्नेछ । सिंगापुर पुलिसतर्फ कात्तिक २४ देखि एक महिनाभित्र क्षेत्रीय छनोट हुने जनाइएको छ । क्षेत्रीय छनोटमा परेकालाई केन्द्रीय छनोटमा बोलाइनेछ । सिंगापुरको अन्तिम छनोट माघ ८ देखि १७ गतेभित्र भइसक्नेछ । त्यसपछि ब्रिटिस गोर्खाको छनोट माघ १९ देखि फागुन १० भित्र पूरा गरिने जनाइएको छ ।‘ब्रिटिस गोर्खाज र सिंगापुर पुलिसमा भर्तीका लागि निवेदन सधैं नि:शुल्क रहेको छ,’ रेक्रुट इन्टेक मापदण्डमा भनिएको छ, ‘कसैले भर्ना शुल्क लाग्छ र शुल्क दिनेलाई सहायता गर्न सकिन्छ भनेमा विश्वास नगर्नुहोला ।’ दलाल, मध्यस्थकर्तामार्फत घुस, प्रभाव र दबाबका भरमा आएका र झुटो कागजपत्र प्रयोग गरेका आवेदकलाई अर्को अवसर नदिइने उल्लेख छ ।
केही महिनाअघि सम्पन्न छनोटबाट बाहिरिएकामध्ये ५ सय ९४ जना पुन: आवेदन दिन नपाउने सूचीमा छन् । ‘कागजपत्र, अनुशासन, मेडिकलजस्ता कारणले नो रि–अप्लाईमा राखिएका हुन्,’ राजधानीस्थित क्लासरुम एकेडेमीका निर्देशक विनोद राईले भने, ‘नयाँ युवालाई भर्ती लिँदा नीतिमा कडाइ गरिएको बुझिएको छ ।’उनका अनुसार कोभिड–१९ महामारीका कारण भिडभाड हुन नदिन प्रारम्भिकदेखि अन्तिम छनोट पोखरास्थित ब्रिटिस क्याम्पमै गर्न लागिएको हो । इन्टेक–२०२१ मा ३ सय ४० नेपाली युवक ब्रिटिस गोर्खामा भर्ती भएर बेलायत गइसकेका छन् । त्यस्तै सिंगापुरका लागि १ सय ४० युवक छनोट भएका थिए । तर उनीहरूमध्ये ६ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई फर्काइएको थियो ।

प्रतिकृया दिनुहोस्