Sunday, May 16

खडेरीले उत्पादन घट्यो, भोकमरीको चिन्ता

April 12, 2021 134

बैतडी : लामो समयदेखिको खडेरीका कारण बैतडीमा यो बर्ष खाद्यान्न उत्पादनमा कमी हुने भएको छ। हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो।

 

खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए। उनले भने ‘आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको छ।’

 

बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ। सिंचाईको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ छर्नै पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुकेको किसानहरुले बताएका छन् ।

 

यो बर्ष हिउँदमा बर्षा नहुँदा सिंचाई सुविधा नभएका ठाउँमा गहुँ बाली सुकिसकेको किसानहरुले बताएका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

उत्पादनमा ह्रास आउने संकेत देखिएसँगै जिल्ला बाहिरबाट खाद्यान्न आयात वृद्धि हुनेछ । खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट आयात गर्नुपर्ने खाद्यान्न परिमाण वृद्धि हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। प्रत्येक बर्ष जिल्लामा हिउँदे बाली उत्पादनमा गिरावट आउने गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्