Friday, July 30

सांसद पद खुस्किने भएपछि प्रभु साहको आक्रोस, ‘प्रचण्डको निर्णय प्रतिगामी कदम’

April 7, 2021 145

काठमाडौं । माओवादी केन्द्रले सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र पठाएपछि माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका सहरी विकासमन्त्री प्रभु साह प्रचण्डमाथि खनिएका छन् ।

प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवं निरंकुशताको पराकाष्टा भएको साहको भनाइ छ ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुक लेख्दै मन्त्री साहले आफूले चुनाव जित्न एमालेसँग सहकार्य गर्ने प्रचण्डले कथित दल त्यागको निहुँमा कानुनी डन्डा चलाउन नसुहाउने बताएका छन् ।

साहले लेखेका छन्, ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता–सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’

साहले माओवादी केन्द्रको पत्रलाई निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएको बताएका छन् ।

उनले प्रचण्डको यो निर्णय प्रतिगामी कदम भएको पनि जिकिर गरेका छन् ।

साहको फेसबुक स्टाटस यस्तो छ–
निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा

जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन । निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएकाछन । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिकरकानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।

प्रतिकृया दिनुहोस्