Monday, October 25

तत्काल सुधार नहुने देखियो नेपालको वायु प्रदूषण

April 7, 2021 201

नेपालको वायु प्रदूषण तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ । काठमाडौँसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको विभागले जनाएको छ ।

काठमाडौँ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । काठमाडौँको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण उच्च रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको विभागले जनाएको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अति हानिकारक मानिन्छ ।
वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जन-स्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमल्लिएको छ । गर्मी बढेको तर पानी नपरेकोले सुक्खापन धेरै हुँदा देशका विभिन्न जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरूले बताउँदै आएका छन् ।

अहिले पनि झण्डै डेढ सय ठाउँमा आगलागी भइरहेको वन तथा भू संरक्षण विभाग अन्तर्गतको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैधन्दा धेरै डोटीमा १३ ठाउँमा र प्युठानमा १० ठाउँमा डढेलो लागेको छ ।

प्रतिकृया दिनुहोस्