Tuesday, October 20

यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार…. ?

October 4, 2020 40

राधा पोखरेल । जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आज जस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन ।

साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै । अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । तर अहिले विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ ।

सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ ।

खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो ।

सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । यस्ता दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ ।

जताततै यस्ता महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । साच्चै सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन ।

धर्म, संस्कृति र परम्पराको नाममा इतिहासदेखि वर्तमानसम्म हजारौं होइन, लाखौं नेपाली चेलीहरूले ज्यान गुमाइसकेका छन् । अनि राज्य र शासकहरू यहि समाजको पक्षमा वकालत गरिरहेका छन् ।

एक पछि अर्को यस्ता घटना आइरहदा देशकै बेइज्जत भएको छ । अब राज्य गम्भीर बन्ने बेला भएको छ र वलात्कार बिरुद्ध सम्बन्धित सबै निकाए कठोर बनेर कडा भन्दा कडा कदम चाल्नु आवश्यक छ।

दुधे बालिका देखि वृद्धालाई सम्म नछाड्ने यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार ?

zkhabar[][]

 

प्रतिकृया दिनुहोस्